नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै

निर्माण व्यवसायीले तिर्ने सावाँ ब्याजको समयसिमा बढाउने अपेक्षा


१४ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दै छ । मौद्रिक आर्थिक वर्ष २०८०र८१ को पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्न लागेको हो । केन्द्रीय बैंकले कुनै पनि त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने व्यवस्था छ ।
अहिले ब्याजदर करिडोरको तल्लो सीमामा रहेको निक्षेप सङ्कलन दरलाई घटाउने अपेक्षा बैंकिङ क्षेत्रले गर्दै आएका छन् । यो अहिले ३ प्रतिशत छ, यो दरभन्दा तल व्यक्तिगत बचत खाताको ब्याज दिन नपाइने व्यवस्था छ । यसले गर्दा मुद्दती र बचत खाताको ब्याजदर एउटै दरमा आउन थालेको भन्दै फ्लोर रेट घट्ने अपेक्षा बैंकर्सको छ ।
त्यस्तै, निर्माण व्यवसायीले तिर्ने सावाँ ब्याजको समयसिमा बढाउने अपेक्षा गरेका छन् । मौद्रिक नीतिले दिएको निर्माण व्यवसायीको सावाँ ब्याज तिर्ने मिति मङ्सिर मसान्तसम्म सकिँदैछ । चेक बाउन्समा कालोसूचीमा नराख्नेगरी भएको व्यवस्था समेत सोही समयमा अन्त्य हुनेछ ।
यसपटकको समीक्षामा बाह्य क्षेत्रसँग सम्बन्धित केही विषयमा खुकुलो नीति लिने तयारी गरिएको छ । अन्य आन्तरिक विषयहरूमा मौद्रिक नीतिले धेरै परिवर्तन नभएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *