सानो गौचरनमा थालियो १५ सय दर्शक क्षमताको रंगशाला पुनःनिर्माण
शुभ कन्स्ट्रक्सनले २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आह्वान
१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम (रंगशाला) को पुनःनिर्माण थालनी गरेको छ । महानगरपालिकाले बिहीबार उपप्रमुख सुनिता डंगोलले पुनःनिर्माणको शिलान्यास भएसँगै कामको थालनी भएको जनाएको छ ।
शुभ कन्स्ट्रक्सनले २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आह्वान भएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।
सुनिता डंगोलले महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको जिकिर गरिन् । उनले भनिन् ‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनःनिर्माण गर्न लागेका हौँ,’।
निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ जना आवेदकले प्रस्ताव पेश गरेका थिए । छनोट भएको निर्माण पक्षलाई कार्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
रंगशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ ।