आचारसंहिता विपरीत चुनाव प्रचारमा हिँडेको भन्दै एमाले सांसद सवार गाडी नियन्त्रणमा
गाडी नियन्त्रणमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका थिए ।
१३ मंसिर, काठमाडौं । स्थानीयले प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई नियन्त्रणमा लिएका छन् ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै नेताहरू सवार सरकारी गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
उक्त गाडीमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, प्रदेशसभा सदस्य न्यौपाने, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार थिए । स्थानीय रबी ठाकुरले वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएको बताए ।
स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको सहायक निर्वाचन अधिकृत अमर ओलीले बताए । गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका थिए ।
आज राति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ ।