मिर्गौला दिन ठिक्क परेका बाबुको हातबाटै बिरामी छोराको हत्या
शाहीमाथि पेटमा चक्कु प्रहार भएपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो
५ पुस, काठमाडौं। भक्तपुर नगरपालिका–२ शहिद खेल मैदान नजिकैको एक घरमा पुस २ गते ३१ वर्षीय नरेन्द्रबहादुर शाहीको चक्कु प्रहारबाट मृत्यु भयो ।
राति सवा १० बजे शाहीमाथि पेटमा चक्कु प्रहार भएपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।
उपचारककै क्रममा उनको राति पौने ११ बजे मृत्यु भएको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोली चक्कु प्रहारबाट मृत्यु भएको सूचना पाएपछि अनुसन्धानमा खटिएको थियो । मृतक शाहीको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएर अनुसन्धान गरेको प्रहरीले तत्कालै मृतक शाहीका बाबु दीपबहादुर शाहीलाई नियन्त्रणमा लियो ।
भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले अनुसन्धानका क्रममा बाबु दीपबहादुर शाहीले नै हत्या गरेको खुलेको बताए । हत्याको कारणमा भने मिर्गौला प्रत्यारोपणको विवाद जोडिएको खुलेको एक अनुसन्धान अधिकृतले बताए । ‘मिर्गौला प्रत्यारोपणको विवाद भएपछि छोराको हत्या गरेको खुलेको छ,’ ती अनुसन्धान अधिकृतले भने ।
प्रहरीले छोराको हत्या आरोपमा पक्राउ परेका दीपबहादुरमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गरिरहेको जानकारी दिए ।