युरोपकै चर्चित ‘कोकेन क्वीन’ तानिया गोमेज पक्राउ


२० फागुन, काठमाडौं । युरोपकै चर्चित ‘कोकेन क्वीन’ तानिया गोमेजलाई स्पेन प्रहरीले पक्राउ गरेको छ।

सन् २०२१ मा इन्टरपोलले रेड नोटिस जारी गरेकी ३३ वर्षीया गोमेजमाथि ठूलो मात्रामा लागूपदार्थ तस्करी र मनी लान्डरिङको आरोप छ।
पक्राउ परेकी गोमेजलाई स्विडेन फिर्ता पठाएर १४ वर्षसम्म जेल सजाय दिने तयारी छ। प्रहरीका अनुसार उनी कुकुर उद्धार संस्था ‘हुन्डगारिन’ मार्फत मनी लाउन्डरिङमा संलग्न थिइन्। उनले स्विडेनी गिरोहका लागि मनी लन्डरको रूपमा काम गरेकी थिइन्।

लागूपदार्थ बिक्रीबाट प्राप्त रकम शुद्धीकरणमा उनको भूमिका रहेको अधिकारीहरूले आरोप लगाएका छन्। गोमेजमाथि लागूपदार्थ सम्झौताबाट १८ लाख स्विडिस क्रोनर बराबरको रकम व्यवस्थापन गरेको भनिएको छ। स्टकहोमको वर्ल्ड एक्सचेन्ज मुद्रा विनिमय कार्यालयमा ४० लाख स्विडिस क्रोनरभन्दा बढी छोडेको आरोप छ।

जुन २०२० मा स्विडेन प्रहरीले छापा मारेको वर्ल्ड एक्सचेन्जले आपराधिक संगठनहरूको लागि पैसा साट्न, कोष शुद्धीकरण गर्न बैंकको रूपमा सञ्चालन गर्ने गरेको पाइएको थियो। पक्राउ परेको भिडियोमा गोमेजलाई हतकडी लगाएर प्रहरीले लगिरहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *