आतंकवादी संगठनको सूचीमा रहेको विद्रोही समूह एचटिएस सँग अमेरिका सीधा सम्पर्कमा
३० मंसिर, काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले सिरियामा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी सत्तामा आएका मोहम्मद अल बसिर लगायत विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) सँग सीधा सम्पर्कमा रहेको जनाएका छन् ।
जोर्डन भ्रमणका बेला ब्लिंकनले यो अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘हामी एचटीएस र अन्य व्यक्तिहरुसँग सम्पर्कमा छौं ।’ एचटिएससँग कस्तो खालको सम्पर्क हो भन्नेबारे भने उनले खुलाएका छैनन् ।
अमेरिकाले एचटिएसलाई आतंकवादी संगठनको सूचीमा राखेको छ । यद्यपि सिरियाका राष्ट्रपति असदविरुद्धको संघर्षमा विद्रोही गुटलाई अमेरिकाले नै सघाएको आरोप लाग्ने गरेको छ ।
सिरियामा सशस्त्र गतिविधि गर्दै आएको एचटिएसले गत हप्ता राष्ट्रपति बशर अल असदलाई देश छाड्न बाध्य पारेको थियो । असद हाल रुसमा शरण लिएर बसिरहेका छन् ।