अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध
यसको उल्लंघन गर्ने लाइ तीन करोड २५ लाख अमेरिकी डलरसम्मको जरिवाना हुने
१४ मसिर, काठमाडौं । अस्ट्रेलियाको संसद्ले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने सम्बन्धी विधेयक पारित गरेको छ । संसद्को माथिल्लो सदन सिनेटको बहुमतले यो विधेयक पारित गरेको हो ।
सामाजिक सञ्जाल प्रयोग गर्ने उमेर न्यूनतम १६ तय गरिएको र अभिभावकको सहमतिमा समेत प्रयोग गर्न नपाउने व्यवस्था राखिएको बिश्वमै यो पहिलो अभ्यास हो । प्रतिबन्धित उमेरका व्यक्तिको पहुँच सामाजिक सञ्जालसम्म नहोस् भन्ने कुरा सुनिश्चित गर्ने दायित्व सामाजिक सञ्जाल प्लेटर्फमका कम्पनीहरूको हुने र यसको उल्लंघन गर्ने कम्पनीलाई तीन करोड २५ लाख अमेरिकी डलरसम्मको जरिवाना हुने व्यवस्था कानूनमा गरिएको छ । यो नियमको उल्लंघन गर्ने बालबालिका भने दण्डित गरिने छैन ।
यो कानुन एक वर्षपछि अर्थात २०२५ को नोभेम्बरदेखि कार्यान्वयनमा आउनेछ । यसअघि सरकारले प्रतिबन्धको प्रभावकारी कार्यान्वयनका लागि बायोमेट्रिक्स र सरकारी पहिचानपत्र जस्ता उमेर प्रमाणीकरण प्रणालीको परीक्षण गर्नेछ । यो परीक्षणमा महिनौं लाग्ने र आगामी वर्षको मध्यतिर त्यसको समीक्षा गरिने जनाइएको छ ।