राष्ट्रपति डोनाल्ड ट्रम्प टिमका सदस्यलाई बम आक्रमणको धम्की
ली जेल्डिनलाई पाइप बम आक्रमणको धम्की
१३ मंसिर, काठमाडौं ।अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका सदस्यहरुलाई बम आक्रमणको धम्की आइरहेको अधिकारीहरुले बताएका छन् ।
मंगलबार र बुधबार बिहान ट्रम्पको टिमको प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै आएकी क्यारोलिन लेविटका अनुसार ट्रम्पले विभिन्न पदमा नियुक्ति दिएकाहरुलाई धम्की आएको थियो ।
एफबीआई लगायतका सुरक्षा एजेन्सीहरुलाई धम्की आएपछि सतर्क बनाइएको छ भने कुनै पनि परिस्थितिसँग जुध्नका लागि आवश्यक तयारी पनि गरिएको अधिकारीहरुले बताएका छन् ।
आफ्नो घरमा बम आक्रमणको चेतावनी सहितको सूचना आएको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त एलिस स्टेफनिकले बताएकी छन् । उनले पति र तीन वर्षको छोरासहित वाशिङ्टनबाट न्यूयोर्क जाँदै गर्दा खतराको सूचना प्राप्त भएको बताएकी छन् ।
ट्रम्पले नियुक्त गरेका पर्यावरण संरक्षण एजेन्सीका प्रमुख ली जेल्डिनलाई पाइप बम आक्रमणको धम्की प्राप्त भएको थियो ।
यसैगरी महान्यायाधिवक्ताका दाबेदार म्याट गेट्जलाई पनि आक्रमणको धम्की आएको बीबीसीले जनाएको छ ।