मुलुकमा नयाँ लडाइँ सुरु हुँदै छः प्रचण्ड


३० मंसिर, काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा नया लडाइँ सुरु हुन लागेको बताएका छन् । शनिबार रुपन्देहीमा आयोजित बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि नयाँ लडाइँ सुरु हुन लागेको बताए ।
माओवादीको नेतृत्वमा विगतमा भएका आन्दोलनबाट भएका परिवर्तनलाई नरुचाउनेहरू अधिकार खोस्ने पक्षमा रहेको उनले दाबी गरे ।
समाजवादी नयाँ आन्दोलनमार्फत परिवर्तन नचाहनेलाई जवाफ दिइने उनले बताए । ‘माओवादी सकियो भन्नेलाई को सकिँदै छ, को शक्तिशाली बन्दै छ भन्ने जवाफ जनताको साथबाट समाजवादी आन्दोलनमार्फत देखाउने छौँ,’ उनले भने । जनतामा कोप्रति घृण बढ्दै छ भन्ने संकेत पनि देखापरेको टिप्पणी पनि उनले गरे । तेस्रोपटक आफूले सत्ताको नेतृत्व लिएपछि भष्टाचारविरुद्ध महाअभियान थालेको स्मरण गर्दै उनले नेता तथा उच्चपदस्थ कर्मचारीहरूसमेत कारबाहीमा पर्न थालेको तथा भूमाफियाविरुद्धको अभियानले उनीहरू रुष्ट बनेको प्रचण्डको भनाइ थियो ।
अर्थतन्त्र डामाडोल रहेको अवस्थामा पछिल्लोपटक सत्ताको नेतृत्व लिएको र आफूले नेतृत्व लिएपछि अर्थतन्त्र समाल्दै विस्तारै लयमा ल्याउने काम भएको प्रचण्डले बताए । नेपालको छवि र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा अर्को उचाइमा पुर्याउन सकेको दाबी गर्दै उनले सत्ताबाट बाहिरिएपछि जनताको बीचमा पुगेको उनको भनाइ छ । ८४ मा माओवादी देशको शक्तिशाली पार्टी बन्ने सन्देश अहिले आइसकेको छ,’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *