पूर्वमेयर पीएल सिंहको शोकमा तीन दिन आधा झण्डा झुकाउने कांग्रेसको निर्णय
पौडेलका अनुसार भोलि (मंगलबार) पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ
१ पुस, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको जानकारी दिए ।
पौडेलका अनुसार भोलि (मंगलबार) पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ ।
सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको हो । उनको पार्थिव शरीरलाई बिहान ११ बजेसम्म निवासमै श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसपछि उनको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिएको थियो ।
सानेपामा सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरू श्रद्धाञ्जली दिन पुगेका थिए ।
आजदेखि १३ दिनसम्म पार्टीले सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
पीएल सिंहको आजै अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतिर्थमा गरिने बताइएको छ ।