अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै

१२ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन अन्तर्गत आज चुनाव हुँदैछ । नयाँ नेतृत्व चयन गर्नका लागि देशभरका साढे २४ सय प्रतिनिधिले मतदान गर्दैछन् ।
३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्नेछन् । उम्मेदवारका विषयमा दाबी विरोधपछि २० जनाको उम्मेदवारी निर्वाचन समितिले रद्द गरेको छ ।
उपत्यका विशेष प्रदेश र बाग्मती प्रदेशको मतदान काठमाण्डौमा हुँदैछ । अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ ।
अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवबीच प्रतिस्पर्धा हुँदैछ ।
खुला र आरक्षण गरी नौ जना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ । नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी कायम भएको छ । एक कोषाध्यक्ष पदका लागि चार जना उम्मेदवार रहेका छन् ।