त्रिविको जग्गा हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याएर छोड्छौं : प्रधानमन्त्री
सरकारले गत जेठ १८ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको
३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
ओलीले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै कार्यान्वयनमा ल्याउने बताएका छन्।
मंगलबार प्रधानमन्त्री ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले प्रतिवेदन बुझाएको थियो। गत जेठ १७ गते मन्त्रिपरिषद्बाट पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो।
प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमै लेख्दै अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अनुसन्धान गरी खोजिने बताएका छन्।
सरकारले गत जेठ १८ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो । तर त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो । समिति सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ थिए । उनीहरुले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छानबिन प्रतिवेदन बुझाएका थिए ।
छानबिन समितिले २०१३ सालदेखि कीर्तिपुर, नैकाप, ढुंगेअड्डा, पाटनलगायत काठमाडौं उपत्यकाका त्रिविका २१ क्याम्पसका जग्गाको अवस्था, दुरुपयोग र उपयोगका लागि समाधानका उपायहरुसमेत सुझाएको छ । समितिले जग्गाको दुरुपयोग भएका सम्बन्धमा अख्तियार दुरुपयोग आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लेखी पठाउन पनि सुझाव दिइएको छ ।
प्रधानमन्त्री ओलीले त्रितालकै संयोजकत्वमा २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न आयोग गठन गरेको स्मरण गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।