भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य समेत दिने
उनले नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने
१४ मंसिर, काठमाडौं । परराष्ट्र मन्त्रालयलेप्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तालिकाबारे आज औपचारिक जानकारी दिएको छ ।
चिनियाँ समकक्षी ली छ्याङको औपचारिक निमन्त्रणा ओली बेइजिङ प्रस्थान गर्न लागेका हुन् ।
मंसिर १७ गतेदेखि २० गतेसम्म (डिसेम्बर २–५सम्म) सम्म प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमण गर्दै छन् । भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, सांसदहरू, उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीसहित ८७ जना रहने छन् । प्रधानमन्त्री ओलीको विहीबारको मन्त्रिपरिषद बैठकले भ्रमण स्वीकृत गरेको थियो ।
ओलीले १७ गते बेइजिङ प्रस्थान गर्ने र १८ गते राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।परराष्ट्र मन्त्रालयले भेटका अवसरमा आपसी चासोका विषयमा विचार आदानप्रदान हुने जनाएको छ । साथै उनले चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग पनि भेटघाट गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा पेकिङ विश्वविद्यालयमा मन्तव्य समेत दिने छन् । उनले नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउन विहीबार नै चीन गएकी थिइन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उनी उतैबाट टोलीमा सहभागी हुनेछिन् ।