प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान
स्वागत पछि दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ
१७ मंसिर, काठमाडौं । चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज चीन प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । प्रधानमन्त्री ओली ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेका हुन् भने उनको टोली साँझ ६ बजेर १० मिनेटमा बेइजिङ पुग्ने छ ।
मंसिर १८ गते भ्रमणका क्रममा चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । स्वागत पछि दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङ र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।
मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नेछन् ।
बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल(चीन व्यापार मञ्चलाई सम्बोधन हुनेछ ।
प्रधानमन्त्री ओली मंसिर २० गते साढे २ बजे स्वदेश फर्कने छन् ।