जापानमा मानवतस्करीको प्रयास आरोपी नेकपा एमाले नेताको भाञ्जा
११ मंसिर, काठमाडौं । मानवतस्करीको प्रयास गरेको आरोपमा जापानमा पक्राउ परेका महेश पाण्डे नेकपा एमाले नेताको भाञ्जा भएको खुलेको छ ।
उनले आफु एमाले नेता खेम लोहनीको भाञ्जा भएको प्रहरीसँगको बयानमा बताएका छन् । धादिङ घर भएका लोहनी एमालेका केन्द्रीय सदस्य हुन् ।
एमालेको संसदीय दलको कार्यालयमा योगराज गौतमसँग लोहनी संसद भएको बेला आफ्नो चिनजान भएको उनले खुलाएका छन् । कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लभ अधिकारीलाई गौतमले नै जापान पठाएर उनका सहयोगीका रुपमा अन्य तीन जनालाई तस्करी गराउने योजना बनाएका थिए ।
सोमबार मा ११ जनाविरुद्ध मुद्दा दायर भएपनि अधिकारीलाई भने जोगाइएको छ । बयानको क्रममा अधिकारीले गौतम आफ्नो साथी भएको स्वीकार गरेका छन् । उनको टिकटदेखि सबै बन्दोबस्ती बिचौलिया समूहले नै गरिदिएको थियो । जापानको अध्यागमनले डिपोर्ट गरिदिएपछि घटना बाहिर आएको हो ।
गिरोहमा मुख्य भूमिकामा रहेका पाण्डेले दिवाकरबाबु भट्टराई, विष्णु भट्टराई तथा योगराज गौतमसँग मिलेर यसरी मानवतस्करीको काम गरेका थिए । अन्य तीन जना फरार रहँदा यो मुद्दा कमजोर बन्न पुगेको छ ।